प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी रकम जम्मा, राहत र पुनर्निर्माणमा तीव्रता

काठमाडौँ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको अद्यावधिक विवरण अनुसार विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खाताहरूमा मात्र १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ मौज्दात रहेको छ ।

यसका अतिरिक्त कोषका लागि तोकिएका अन्य दुई वटा बैंकमा सञ्चालित डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर (करिब ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी) जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विपद्को यस कठिन घडीमा देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था, वित्तीय निकाय, निजी क्षेत्र र सर्वसाधारण नागरिकहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।

जम्मा भएको रकम विपद् प्रभावित क्षेत्रमा तत्काल राहत तथा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि परिचालन गर्न थालिएको छ । केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित तथा पीडित नागरिकहरूको राहत र पुनस्र्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिसकिएको छ । सरकारले कोषमा प्राप्त प्रत्येक सहयोगको पारदर्शी उपयोग गर्दै विपद् प्रभावितहरूलाई थप प्रभावकारी राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा