काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा देशभरबाट करिब सात हजार महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न हुने १५औँ महाधिवेशनमा सो संख्याका प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएको हो । महाधिवेशनको आन्तरिक निर्वाचन प्रक्रिया तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार हाल पार्टीमा कुल ८ लाख ७० हजार क्रियाशील सदस्य कायम रहेका छन् । हालैको अविरल वर्षा र भोटेकोशी बाढीपहिरोका कारण अतिप्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ लगायतका केही हिमाली तथा पहाडी जिल्लाहरू बाहेक अन्य सबै क्षेत्रको क्रियाशील सदस्यता विवरण अद्यावधिक भइसकेको छ । बाढी प्रभावित क्षेत्रहरूमा पनि अवस्था सामान्य बन्दै जाँदा अधिवेशन प्रक्रियालाई समायोजन गरी अघि बढाउने तयारी भइरहेको छ ।
यसपटकको महाधिवेशनमा समावेशी सहभागिता, डिजिटल मतदाता नामावली र आधुनिक निर्वाचन प्रणाली अपनाइने निर्वाचन समितिले स्पष्ट पारेको छ । वडा तहदेखि चुनिएर आउने प्रतिनिधिहरूले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन् । निर्वाचन समितिले तोकिएकै कार्यतालिका अनुसार निर्वाचन अधिकृतहरू जिल्ला-जिल्लामा खटाइसकिएको र महाधिवेशनलाई मर्यादित एवं अनुशासित बनाउन सबै संरचनालाई तयारी अवस्थामा राखिएको जनाएको छ ।





