निक्षेपको ब्याजदर घट्ने क्रममा ब्रेक : असोजका लागि ४ बैंकले घटाए, १६ वटाको यथावत्

काठमाडौँ । वाणिज्य बैंकहरूमा लामो समयदेखि निरन्तर ओरालो लागिरहेको निक्षेपको ब्याजदर घट्ने शृङ्खलामा असोज महिनामा आएर ब्रेक लागेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बुधबार प्रकाशित विवरण अनुसार ४ वटा बैंकले मात्र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकले भदौकै दरलाई यथावत् राखेका छन् ।

असोजका लागि एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले ब्याजदर घटाएका छन् । जसमा एभरेस्ट बैंकले सबैभन्दा बढी ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशतमा झारेको छ भने नबिलले ४.२५, स्ट्यान्डर्ड चार्टर्डले ३.७५ र कुमारीले ३.७३ प्रतिशत ब्याजदर तोकेका छन् । विगतमा अधिक तरलताका कारण कोषको लागत घटाउन निरन्तर ब्याजदर घटाइँदै आएको भए पनि पछिल्लो समय दसैँ-तिहारलक्षित प्रतीतपत्र (एलसी) खुल्ने क्रम बढेको र बजारमा कर्जाको मागमा सुधारका संकेतहरू देखिएकाले अधिकांश बैंकहरूले ब्याजदर स्थिर राख्ने नीति लिएका हुन् ।

असोज महिनामा सबैभन्दा बढी ब्याज दिने बैंकको रूपमा प्रभु बैंक अग्रस्थानमा रहेको छ, जसले भदौकै ४.५५ प्रतिशतलाई निरन्तरता दिएको छ । यसैगरी माछापुच्छ्रे, एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम राखेका छन् । चार बैंकको कटौतीपछि समग्र वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भदौको ४.१४ प्रतिशतबाट झिनो गिरावट आई ४.०९ प्रतिशत कायम भएको छ । बैंकिङ विज्ञहरूका अनुसार निक्षेपको ब्याजदर तल्लो बिन्दुमा पुगिसकेकाले अब ब्याजदर स्थिरतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा