प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘फोहोरमैला व्यवस्थापन’ सहित विभिन्न विधेयक प्रस्तुत गरिने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ः०० बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा विभिन्न महत्त्वपूर्ण विधेयकहरू अघि बढाउने सम्भावित कार्यसूची रहेको छ। बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने संसद् सचिवालयले जनाएको छ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यतालिका छ।

प्रतिनिधिसभा बैठकका अतिरिक्त आजै सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच वटा विषयगत समितिका बैठकहरू पनि बस्दैछन्। सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा