काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार नेपाली सेना परिचालन गरिने भएको छ। निर्वाचन सुरक्षासम्बन्धी एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भइसकेको र राष्ट्रपतिबाटसमेत अनुमोदन प्राप्त भएकाले सोही योजनाअनुसार सेना परिचालन गरिने बताइएको छ।
एकीकृत सुरक्षा योजनाको मार्गनिर्देशनअनुसार निर्वाचनको एक महिना अघिदेखि नै नेपाली सेना फिल्डमा परिचालित हुनेछ। निर्वाचनका क्रममा सेनाले तीन चरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा तथा महत्वपूर्ण संरचनाको संरक्षण प्रमुख जिम्मेवारीका रूपमा रहनेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायतका संवेदनशील तथा महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले गर्नेछ।
त्यसैगरी निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म लक्षित एकीकृत तालिम र अभ्यास सञ्चालन गरिने जनाइएको छ।
