काठमाडाैं । भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार भएकाे छ। बुधबार अपराह्न ४ः०० बजे भक्तपुर सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक रहेको रेष्टुरेन्टभित्र केटाहरूकाे एक समुहले प्रहरीमाथि चक्कु प्रहार गरेकाे हाे ।
अपराध महाशाखाबाट जिल्ला प्रहरी परिसर भक्तपुरमा खटिएको प्रहरी निरीक्षक हेम थपलियाको कमाण्डमा खटिएको ५ जनाको टोलीले अभियुक्तहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक सञ्जिब केसीमाथि चक्कु प्रहार गरेकाे हाे ।
चक्कु प्रहारबाट प्रहरीकाे दाहिने ढाडतर्फ गहिरो चोट तथा छातीमा चोट लागेकाे छ।
उक्त घटनामा संलग्न चार जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय सागर शंकर सेती, सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–७ घर भई हाल भक्तपुर ताथली बस्ने २५ वर्षीय सन्तोष दुलाल, सिराहा, सिक्कीपुर नगरपालिका–८ घर भई हाल भक्तपुर ताथली बस्ने २० वर्षीय वीरेन्द्र मलिक र काठमाडौं महानगरपालिका–२७ बस्ने २७ वर्षीय अभय तुलाधर छन्।
पक्राउ परेकाहरू हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
