देशभर पश्चिमी वायुको प्रभाव: कतै हिमपात कतै वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण हाल सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना छ। विशेषगरी गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपात हुनसक्ने प्रक्षेपण गरिएको छ।

आज राति पनि मौसमको यो क्रम जारी रहने देखिएको छ। पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावसँगै चिसो बढ्ने र कतिपय क्षेत्रमा तुवाँलो वा हुस्सु लाग्न सक्ने भएकाले जनस्वास्थ्य र यातायातका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा