पोखरा । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।
गएराति करिब २:१० बजेको समयमा पामेको गैह्राकोचौतरा नजिकै कार अनियन्त्रित भई सडकबाट सिधै फेवातालमा खसेको थियो।
दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको नेतृत्वमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो।
सशस्त्रको गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकाली तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको भए तापनि बिहान ४:३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट निकालिएको छ भने घटनाबारे थप अनुसन्धानका लागि सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ।





