काठमाडाैं । ललितपुरको कोञ्जोसोममा शुक्रबार राति भएको मिनी ट्रक दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन्।
कोञ्जोसोम-१ बाउनडाँडामा भएको यो भीषण दुर्घटनामा दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक सडकबाट खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा चालक ललितपुर गोदावरी-६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापा रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै प्राण गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका करिब ४० र ५० वर्षका अन्य दुई पुरुषलाई तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार ज्यान गुमाउने यी दुई जनाको सनाखत हुन अझै बाँकी छ।





