कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना: चट्याङ्गबाट जोगिन महाशाखाको सतर्कता

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा मौसम साधारणतया बदली रहनेछ। यस क्रममा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

आज राति देशभरको मौसममा आंशिकदेखि साधारण बदली रहनेछ। विशेष गरी हिमाली भू-भागमा साधारणतया बदली रहने र पहाडी भेगमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

पछिल्लो समय मौसममा आइरहेको यो फेरबदल र प्रि-मनसुनको सक्रियताका कारण चट्याङ्गको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेष गरी कृषि कार्य र पदयात्रामा निस्कनेहरूलाई मौसमको अवस्था बुझेर मात्र आफ्नो गतिविधि अघि बढाउन सुझाव दिइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा