काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशभरिको मौसममा बदली देखिएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेष गरी उच्च पहाडी क्षेत्रमा हुन सक्ने आकस्मिक वर्षाले दैनिक जनजीवनमा सामान्य असर पार्न सक्ने देखिएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै गण्डकीका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। कोशी र बागमतीका हिमाली भेगमा पनि एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
प्रि-मनसुनको समय भएकाले दिउँसोपख मौसम अचानक परिवर्तन भई हावाहुरी र चट्याङ्ग पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले पनि आगलागी र डढेलोको जोखिमप्रति स्थानीय प्रशासनलाई उच्च तयारीमा रहन निर्देशन दिएको छ।





