श्रममन्त्री दीपककुमार साह पदमुक्त: श्रीमतीलाई बोर्ड सदस्य बनाएको आरोपमा बालेनद्वारा एक्सन, स्वास्थ्यमन्त्री मेहतालाई पनि सचेत

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस र पार्टीको ‘राइट टु रिकल’ (Right to Recall) को अवधारणा अनुरूप प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नुभएको हो।

मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको तथ्य बाहिर आएपछि रास्वपाले उहाँमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो। रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै प्रधानमन्त्री शाहलाई भेटेर साहलाई मन्त्री पदबाट फिर्ता बोलाउन सिफारिस पत्र बुझाउनुभएको थियो।

यसअघि बुधबार रास्वपाको केन्द्रीय अनुशासन आयोगले गरेको विस्तृत अध्ययनले मन्त्री साहको गतिविधिबाट पार्टीको छवि, आदर्श र सिद्धान्तमा गम्भीर आँच पुगेको निष्कर्ष निकालेको थियो। पार्टी विधानको धारा ६९ मा रहेको ‘जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने’ व्यवस्थालाई टेकेर रास्वपाले पहिलो पटक आफ्ना बहालवाला मन्त्रीलाई फिर्ता बोलाएको हो।

यसैगरी, सोही प्रकरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन सिफारिस गरेको थियो। सोही आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसक्नुभएको छ। सुशासन र नैतिकतालाई मुख्य नारा बनाएको बालेन सरकार र रास्वपाको यो कदमलाई राजनीतिक वृत्तमा ‘कडा सन्देश’ का रूपमा हेरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा