काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा निरन्तर फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाको पछिल्लो बुलेटिन अनुसार कोशी प्रदेशका पहाडी र हिमाली भेगका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भाग र अन्य केही हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षाको सङ्केत देखिएको छ।
विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। प्रि-मनसुनको समय भएकाले अचानक मौसम परिवर्तन भई चट्याङ्ग र हावाहुरीले क्षति पुर्याउन सक्ने जोखिम बढेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सम्भावित मौसमी विपद् र आगलागीका घटनाप्रति सचेत रहन स्थानीय प्रशासनहरूलाई निर्देशन दिएको छ।





