काठमाडौँ । इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले झाको रिहाइबारे औपचारिक जानकारी दिँदै उहाँलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु भइसकेको बताउनुभएको हो।
उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी झा इरानको ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीमा पानीजहाज चालक (ड्राइभर) को रूपमा कार्यरत हुनुहुन्थ्यो। दुबईबाट इरानतर्फ इन्धन लिन गएको र फर्किने क्रममा उहाँलाई इरानी सेनाले बन्दर अब्बास क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
झा रिहा भएलगत्तै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र दोहास्थित नेपाली दूतावासमार्फत समन्वय भइरहेको जनाएको छ। स्थानीय अदालतको आदेशको विस्तृत विवरण प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी झालाई नेपाल ल्याइनेछ। लामो समयको अन्योलपछि झाको रिहाइले उहाँको परिवार र समुदायमा खुसीयाली छाएको छ।





