युवाहरू अब रोजगारी खोज्ने होइन, सिर्जना गर्ने उद्यमी बन्नुपर्छ: शिक्षामन्त्री सस्मित पोखरेल

मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले युवा विद्यार्थीहरू अब रोजगारीको खोजीमा मात्र लाग्नुभन्दा पनि आफैँ रोजगारी सिर्जना गर्ने गरी उद्यमशीलतामा जोडिनुपर्ने बताउनुभएको छ। मोरङमा आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीहरूलाई प्राप्त गरेको ज्ञान, सीप र विवेकको सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन आग्रह गर्नुभयो।

मन्त्री पोखरेलले सबैको सामूहिक प्रयासबाट मात्र नेपाललाई सबल, सक्षम र समृद्ध राष्ट्र बनाउन सकिने उल्लेख गर्नुभयो। पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको तीन दशकमा मुलुकको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरेर उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो। वर्तमान अवस्थामा सरकारले शिक्षालाई थप गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउन महत्त्वपूर्ण कदमहरू चालिरहेको उहाँको भनाइ थियो।

दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गरेका ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन्। सो अवसरमा मन्त्री पोखरेलले विभिन्न विधामा उत्कृष्ट अङ्क ल्याउने २१ जना विद्यार्थीलाई स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गर्नुभयो। दीक्षित विद्यार्थीहरूलाई आफ्नो अध्ययनको क्षेत्रमा नवीनता ल्याउन र उद्यमशील सोचका साथ अगाडि बढ्न उहाँले विशेष जोड दिनुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा