काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ. रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्तका लागि तोकेको अन्तिम समय जेठ १३ गतेभित्र १० जनाको दरखास्त परेको जानकारी दिएको हो.
आयोगको नेतृत्वका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोखरेलसहित १० जनाले आफ्नो दाबेदारी पेस गरेका छन्. आवेदन दिने अन्य आकांक्षीहरूमा प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री, सह–प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधान रहेका छन्.
उपाध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले प्राप्त आवेदनमाथि आवश्यक अध्ययन सुरु गरिसकेको छ. समितिले सबै उम्मेदवारहरूलाई आ–आफ्नो कार्ययोजनासहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि आगामी जेठ २६ र २७ गतेको समय तोकेको छ. सो प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारहरूको नाम सरकारसमक्ष सिफारिस गर्नेछ.





