काठमाडौँ । जेठ २५ गते सोमबार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना देखिएको छ भने तराईका भू-भागमा अत्यधिक गर्मीको लहर कायमै रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न क्षेत्रमा मौसमको मिश्रित प्रभाव रहनेछ।
सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैगरी, कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रमा वर्षाको आकलन गरिए पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने ‘तातो दिन’ हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, सोमबार राति कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





