काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी मौसमी प्रणालीहरूको संयुक्त प्रभावका कारण आज देशभरकै मौसममा आंशिकदेखि साधारणतया बदली रहने छ।
महाशाखाका अनुसार आज ४ असार बिहीबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोशी र मधेस प्रदेशका तराई भू-भागमा आंशिक बदली हुनेछ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। यो अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई र पहाडी क्षेत्रमा हुन सक्ने चट्याङ्ग र वर्षाको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।





