काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर पूर्णतया बदली रहनेछ। मनसुनी वायु देशैभर पूर्ण रूपमा सक्रिय हुँदा हिमाली क्षेत्रमा हिमपात तथा पहाड र तराईका अधिकांश भू-भागमा मेघगर्जनसहित भारी वर्षा र हावाहुरीको सम्भावना देखिएको छ।
आज दिउँसो देशको हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। यसै गरी तराईका केही स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर पूर्णतया बादल लागिरहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। विशेष गरी राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम उच्च बनेको छ। साथै मधेश प्रदेश र बागमती तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।





