काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली रही मनसुनी वायुको प्रभाव कायमै रहनेछ। देशका कतिपय क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थान, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी, बागमती र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत प्रक्षेपण गरिएको छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका पहाडी र तराईका केही स्थान, कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। राति सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र नदी तटीय क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरेको छ।




