चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा आमा र छोराको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत रहेका छन्। रातिको समयमा गाउँ पसेको जङ्गली हात्तीले उनीहरूको घरमा एक्कासि आक्रमण गर्दा दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
जङ्गली हात्तीको आक्रमणबाट बच्न र त्यसलाई धपाउने प्रयासमा मृतक आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बालेका थिए। सोही क्रममा उनीहरूको कच्ची घरमा आगलागीसमेत भएको थियो। पछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा उक्त आगो निभाइएको थियो। यस हृदयविदारक घटनाले सिङ्गो बेलहट्टा क्षेत्र शोकमा डुबेको छ भने स्थानीय बासिन्दामा जङ्गली जनावरको त्रास थप बढेको छ।




