काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदली रही मनसुनी वायुको प्रभाव कायमै रहनेछ। देशका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनुका साथै रातिको समयमा तीनवटा प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ। दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा उच्च पहाडी/हिमाली भेगमा हिमपातको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा कोशीको तराई र मधेश प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेश प्रदेशका साथै कर्णालीको पहाडी भू-भाग तथा बागमती र लुम्बिनीका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले महाशाखाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।




