काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज (बुधबार) देशका विभिन्न भू-भागमा मेघगर्जनसहित सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभरको मौसममा आंशिकदेखि पूर्ण बदली रहेको छ।
बुधबार दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी, देशका हिमाली र पहाडी भू-भागका धेरैजसो स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभरको मौसम बदली नै रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा राति पनि भारी वर्षा हुन सक्ने जनाइएको छ। अन्य प्रदेशका पहाडी र हिमाली भू-भागमा समेत मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षाका कारण नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने, तराईमा डुबान र पहाडी भू-भागमा पहिरोको उच्च जोखिम रहने भएकाले यात्रा गर्दा र दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।




