काठमाडौँ । मुलुकभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी भेगका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। यसै गरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको उच्च सम्भावना रहेको छ। तराई क्षेत्रतर्फ कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। रातिको समयमा कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लगातारको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने तथा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




