काठमाडौँ । समाजमा धार्मिक तथा जातीय हिंसा र विद्वेष फैलाउने किसिमका भ्रामक एवं उत्तेजक सामग्री सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साइबर ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा रुपन्देहीबाट जनक भुसाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट सामाजिक सद्भावमा खलल पुर्याउने र अशान्ति फैलाउने खालका अनर्गल प्रचारप्रसार गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका भुसालमाथि साइबर कसुरअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र अशान्ति सिर्जना गर्ने गतिविधिमाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ।




