काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
निगम सञ्चालक समितिको बैठकको निर्णय अनुसार साउन १८ गते बिहान १२:०१ बजेदेखि नयाँ मूल्यसूची लागु भएको छ। समायोजन अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र काठमाडौँका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले वृद्धि गरिएको छ।
उपभोक्ताको हितलाई ध्यानमा राख्दै खाना पकाउने एलपी (LP) ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ। मूल्य समायोजन गरिए तापनि निगमलाई अझै पनि पाक्षिक करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा रहने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारको जटिल परिस्थितिलाई मध्यनजर गर्दै निगमले आम उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अपिल गरेको छ।





