काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार सुरु भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर चासो व्यक्त गर्दै आपूर्ति व्यवस्था सहज बनाउन कदम चालेको छ। मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मङ्गलबार बसेको उच्चस्तरीय बैठकले ग्यास आपूर्तिमा देखिएका समस्या समाधान गर्न र आसन्न चाडपर्वलाई लक्षित गर्दै आयात बढाउने निर्णय गरेको छ।
बैठकमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, नेपाल आयल निगम र ग्यास उद्योगीहरूबिच बजारको वर्तमान अवस्थाबारे समीक्षा गरिएको थियो। व्यवसायीहरूले बजारमा हल्ला फैलिएजस्तो अभाव नभएको तर १४.२ किलोग्रामको भरी सिलिन्डर पुनः वितरण गर्न थालेपछि उपभोक्ताले अस्वाभाविक रूपमा भण्डारण गर्दा माग ह्वात्तै बढेको दाबी गरेका छन्।
आगामी दशैं, तिहार तथा छठजस्ता ठुला चाडपर्वमा हुने उच्च मागलाई ध्यानमा राख्दै अबको तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा नियमित र पारदर्शी वितरणका लागि समन्वय बढाउँदै दीर्घकालीन समाधानका लागि थप छलफल जारी राखिने जनाइएको छ।




