काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (मङ्गलबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो तथा रातिको समयमा देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा ६ वटा प्रदेशका पहाडी भू-भागमा भारी वर्षा र मधेश तथा कोशीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।
आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसै गरी कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
त्यसै गरी आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। रातिको समयमा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम कायमै रहने जनाइएको छ। वर्षा, चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।





