भदौ २४ को हिंसा अघिल्लो दिनको आवेग होइन, लोकतन्त्र उल्ट्याउने सुनियोजित षड्यन्त्र थियो : एमाले

काठमाडौँ । नेकपा (एमाले) ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभई मुलुकलाई अराजकतामा धकेल्ने सुनियोजित षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ। भदौ २४ का घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विशेष वक्तव्यमा यस्तो दाबी गरिएको हो।

एमालेका अनुसार भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक रूप दिएका थिए। आयोजकहरूले प्रदर्शन स्थगित गर्दागर्दै पनि षड्यन्त्रकारी समूहले निर्दोष युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेको र भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको ज्यान गएको वक्तव्यमा उल्लेख छ।

तत्कालीन प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा राजनीतिक दलका कार्यालयहरूमा आगजनी र विध्वंस मच्चाइएको भन्दै एमालेले त्यसलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनेको छ। यो विध्वंस राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील कोर्स उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा धकेल्ने घातक योजनाको मूर्त रूप भएको निष्कर्ष पार्टीले निकालेको छ।

शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र राज्यका मुख्य धरोहरमा आक्रमण हुँदा सुरक्षा निकायले किन रोक्न सकेनन् भन्नेबारे गहिरो छानबिन हुनुपर्ने माग एमालेले गरेको छ। साथै, ‘जेन्जी विद्रोह’ का नाममा भएको विध्वंसमा नवयुवाहरूको संलग्नता नरहेको र उनीहरूको असल सरोकारको दुरुपयोग गरी अन्य लाभग्राही तत्वहरूले फाइदा उठाएको दाबी गर्दै एमालेले राजनीतिको अपराधीकरण र दण्डहीनतालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा