नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित,आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटबाट बाहिरियो

काठमाडाैं । नेपाल आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ। आज स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेसँगै नेपालका लागि विश्वकप यात्रा यहीँ टुंगिएको हो।

स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १३.५ ओभरमै ९ विकेट गुमाउँदै जम्मा ६८ रनमै सीमित भयो। कप्तान इन्दु बर्मा ५ बलमा ५ रन बनाएपछि रिटायर्ड हर्ट भएकी थिइन् र उनी पुनः ब्याटिङका लागि मैदानमा फर्कन सकिनन्।

समूह चरणमा नेपालले चार खेल खेल्दै एकमा मात्र जित निकाल्न सफल भयो भने तीन खेलमा पराजय भोग्दै ग्लोबल छनोटबाटै बाहिरिन बाध्य भयो।

नेपालका लागि ओपनर बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन जोडे। रुविना क्षेत्रीले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो।

नेपालका बलरमध्ये मनिषा उपाध्याय सर्वाधिक सफल रहिन्। उनले आफ्नो पहिलो ओभरमै दुई विकेटसहित कुल ४ विकेट हात पारिन्। ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनिषाले ४ ओभरमा १७ रन मात्र खर्चिइन्। रुविना क्षेत्रीले ३ विकेट लिँदा ४ ओभरमा २३ रन दिइन्। रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक विकेट लिए।

मनिषाले इनिङ्सको सुरुआतमै प्रभाव छोड्दै दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई आउट गर्दै नेपाललाई उत्साहजनक सुरुआत दिलाएकी थिइन्।

स्कटल्यान्डका तर्फबाट प्रियानाज चट्टेर्जी सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२ रन बनाइन् भने सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा