काठमाडौँ । कुशल भुर्तेलको उत्कृष्ट अविजित शतक र दीपेन्द्र सिंह ऐरीको घातक बलिङको मद्दतले आइसिसी विश्वकप लिग २ मा नेपालले अमेरिकामाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ। टियु क्रिकेट स्टेडियममा अमेरिकाले दिएको १ सय ९६ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेल र आशिफ शेखबीच पहिलो विकेटका लागि भएको १ सय ४५ रनको कीर्तिमानी साझेदारी मुख्य कडी बन्यो।
लगातार तीन खेलमा टिमबाट ड्रप भएर कमब्याक गरेका कुशल भुर्तेलले १०४ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै अविजित १ सय २० रनको यादगार इनिङ खेले, जुन उनको एकदिवसीय करियरकै सर्वोच्च स्कोर हो। अर्का ओपनर आशिफ शेखले ७२ बलमा ५८ रन बनाउँदै आफ्नो १५ औँ एकदिवसीय अर्धशतक पूरा गरे। यो साझेदारी एकदिवसीय क्रिकेटमा नेपालका लागि चौथो ठूलो साझेदारी समेत बनेको छ। अमेरिकाका मोहम्मद मोहसिनले आशिफलाई आउट गर्दै यो साझेदारी तोडे पनि कुशलले अनिल साहसँग मिलेर नेपाललाई जितसम्म पुर्याए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रनमै अलआउट भएको थाल्यो। अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन र सेहान जयसुर्याले ५० रन जोड्दै दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे पनि अन्य ब्याटर चल्न सकेनन्। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ७.३ ओभरमा मात्र २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदै अमेरिकाको इनिङ ध्वस्त पारे। यस्तै सोमपाल कामीले २, सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट लिए। यो जितसँगै नेपालको लिग २ मा २० अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको यो आठौँ हार हो।





