काठमाडौँ । घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ मा सुखद सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित रङ्गशालामा शुक्रबार भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० गोलको रोमाञ्चक जित दर्ता गरेको हो। खेलमा मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे।
खेलको सुरुवाती नवौँ मिनेटमै इरिक लिराको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जुलियन क्विनोनेसले गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को स्थितिमा रहेको खेल दोस्रो हाफमा भने निकै आक्रामक र विवादास्पद बन्न पुग्यो। खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गरी मेक्सिकोको अग्रता दोब्बर बनाए।
तनावपूर्ण बनेको खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा खुम्चियो। खेलको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाएर मैदान छाड्नुपर्यो। विश्वकपको उद्घाटन खेलमै कुल तीन खेलाडीले रातो कार्ड पाएको यो दुर्लभ र आक्रामक खेल बनेको छ। यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्त्वपूर्ण ३ अङ्क जोडेको छ।





