अटोवा । फिफा विश्वकप २०२६ को संयुक्त आयोजक राष्ट्र क्यानडा आफ्नो इतिहासकै बलियो पुरुष फुटबल टोलीसहित विश्वमञ्चमा बलियो उपस्थिति जनाउने तयारीमा जुटेको छ। संयुक्त राज्य अमेरिका र मेक्सिकोको दाँजोमा कूटनीतिक र राजनीतिक रूपमा शान्त देखिए पनि क्यानडाले घरेलु मैदानमा आक्रामक छाप छोड्ने रणनीतिका साथ टोलीलाई मैदानमा उतार्दै छ।
क्यानडाको यो पुरुष विश्वकपमा तेस्रो सहभागिता मात्र हो। यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा उसले खेलेका ६ वटै खेलमा हार व्यहोरेको खराब रेकर्ड छ। तर, यसपटक प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको टोलीलाई क्यानडाको इतिहासकै ‘गोल्डेन जेनेरेसन’ (उत्कृष्ट पुस्ता) मानिएको छ। टोलीमा युरोपका शीर्ष लिगहरूमा व्यावसायिक फुटबल खेल्ने खेलाडीहरूको बाहुल्यता रहेको छ। युभेन्टसका जोनाथन डेभिड र भियारियलका ताजोन बुकाननसँगै टोलीका कप्तान एवं बायर म्युनिखका स्टार अल्फोन्सो डेभिस क्यानडाका मुख्य खम्बा हुन्। यद्यपि, डेभिस चोटका कारण बोस्निया-हर्जगोभिना विरुद्धको उद्घाटन खेलमा मैदान उत्रने विषयमा अझै अनिश्चितता छ।
प्रशिक्षक मार्सको आक्रामक र शारीरिक खेल शैलीका कारण क्यानडाको खेललाई आइस हकीसँग समेत तुलना गर्न थालिएको छ। यसपटक क्यानडा रहेको समूहलाई तुलनात्मक रूपमा सहज मानिएको छ, जहाँ उसले स्विट्जरल्यान्ड, कतार र बोस्निया-हर्जगोभिनाको सामना गर्नेछ। खेल मैदानबाहिर टोरन्टो र भ्यानकुभरका होटलहरूको मूल्य ३०० प्रतिशतसम्म बढेर प्रतिरात १००० देखि २००० डलरसम्म पुगेको विषयले चर्चा पाए पनि घरेलु दर्शकहरूको अभूतपूर्व समर्थनले टोलीको उत्साह थपेको छ।




