काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिलले खेलको पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो, जसलाई दोस्रो हाफमा समेत कायमै राख्यो।
ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे। खेलको २३औँ मिनेटमा कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा स्टार खेलाडी भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल खेलमा ३–० ले अघि बढेको थियो। दोस्रो हाफमा हाइटीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन भने ब्राजिलले गरेका अन्य दुई गोल अफसाइडका कारण मान्य भएनन्।
यो जितसँगै २ खेलबाट ४ अङ्क जोड्दै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान ४ अङ्क भएको मोरक्को गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने ३ अङ्कका साथ स्कटल्यान्ड तेस्रो स्थानमा छ। लगातार दोस्रो हार बेहोरेको हाइटी भने अङ्कविहीन बन्दै विश्वकपको नकआउट चरणको दौडबाट बाहिरिएको छ। अब ब्राजिलले आफ्नो अर्को खेल स्कटल्यान्डसँग खेल्नेछ।





