काठमाडौँ । विश्वको सबैभन्दा ठुलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब (YouTube) आज विश्वभर डाउन भएको छ। आज बुधबार (फागुन ६ गते) बिहानैदेखि युट्युबका सेवाहरूमा समस्या देखिएपछि लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन्।
आउटेज ट्र्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’ (Downdetector) का अनुसार अमेरिकामा मात्रै २ लाख ४० हजारभन्दा बढी र भारतमा करिब १७ हजार प्रयोगकर्ताले सेवा अवरुद्ध भएको रिपोर्ट गरेका छन्।
प्रयोगकर्ताहरूले विशेषगरी युट्युबको होमपेज नखुल्ने, सर्ट्स (Shorts) भिडियो लोड नहुने र भिडियो प्लेब्याकमा समस्या आएको गुनासो गरेका छन्। मोबाइल एप र वेबसाइट दुवैमा ‘Something Went Wrong’ भन्ने सन्देश देखिइरहेको छ।
केही प्रयोगकर्ताहरूले युट्युब म्युजिक र युट्युब टिभीमा पनि समस्या झेल्नुपरेको बताएका छन्। गुगलको ब्याकइन्ड सर्भरमा आएको प्राविधिक समस्याका कारण यो आउटेज भएको प्रारम्भिक अनुमान गरिएको छ, यद्यपि गुगलले यसबारे विस्तृत आधिकारिक जानकारी दिएको छैन।
युट्युबको आधिकारिक एक्स (ट्वीटर) ह्यान्डलले समस्या समाधानका लागि काम भइरहेको जनाएको छ।





