काठमाडौँ । नेपाल र भारतबिच डिजिटल भुक्तानी सेवा सहज बनाउन तीन वर्षअघि भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्ततः कार्यान्वयनमा आएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशङ्करले संयुक्त रूपमा ‘क्रस बोर्डर पी-टू-पी’ (पर्सन टू पर्सन) सेवाको औपचारिक सुरुवात गरेका छन्। भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (NPI) प्रणालीबिच आबद्धता कायम गरेर यो सेवा सञ्चालनमा ल्याइएको हो।
यस सम्झौताको कार्यान्वयनसँगै नेपाल र भारतमा अस्थायी रूपमा बसोबास गरी आयआर्जन गरिरहेका दुवै देशका नागरिकहरूलाई आफ्नो घरमा रकम पठाउन निकै सहज हुनेछ। नयाँ व्यवस्थाअनुसार नेपालमा बस्ने भारतीय नागरिकले दैनिक १५ हजार भारु र मासिक अधिकतम २ लाख भारुको सीमाभित्र रहेर सिधै बैंकबाट बैंकमा रकम पठाउन सक्नेछन्। त्यसैगरी, भारतमा बस्ने नेपाली नागरिकहरूले प्रतिपटक (प्रति कारोबार) २ लाख भारुका दरले नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ, जुन भारतीय रिजर्भ बैंक (RBI) को नियमअनुसार तोकिएको हो।
नेपाल क्लियरिङ हाउसका सीईओ निलेशसिंह प्रधानका अनुसार अहिले आधा दर्जन नेपाली बैंकहरूले यो प्रणाली अपनाएर भुक्तानी सेवा सुरु गरिसकेका छन्। यद्यपि, नेपालबाट भारत जाने नेपाली पर्यटक वा सर्वसाधारणले क्युआर (QR) कोड स्क्यान गरी सामान वा सेवाको भुक्तानी गर्ने ‘पी-टू-एम’ (पर्सन टू मर्चेन्ट) सेवा भने अझै सुरु भइसकेको छैन र यसका लागि केही समय पर्खनुपर्नेछ।





