अमेरिका–इरान १४ बुँदे शान्ति सम्झौता प्रस्ताव सार्वजनिक: स्थायी युद्धविरामदेखि ३०० अर्ब डलरको पुनर्निर्माण योजनासम्म

काठमाडौँ । अमेरिका र इरानबिच ऐतिहासिक शान्ति सम्झौता (एमओयू) का लागि १४ बुँदे खाका प्रस्ताव तयार भएको इरानी सञ्चार माध्यमहरूले दाबी गरेका छन्। दुवै देशले आधिकारिक रूपमा यसको पुष्टि नगरे पनि इरानको अर्ध-सरकारी समाचार एजेन्सी ‘मेहर न्युज’ र बीबीसीका अनुसार प्रस्तावित मस्यौदामा लेबनानसहित सबै मोर्चाहरूमा स्थायी युद्धविराम गर्ने विषय समेटिएको छ।

प्रस्तावित सम्झौता अनुसार अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढाउने प्रतिबद्धता जनाउनुपर्नेछ। यसका साथै, सम्झौता भएको ३० दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता गर्ने र इरानी व्यवस्थापनअन्तर्गत ‘स्ट्रेट अफ होर्मुज’ व्यावसायिक यातायातका लागि पुनः खुला गर्ने बुँदाहरू उल्लेख छन्। इरानले आफ्नो परमाणु हतियार नबनाउने प्रतिबद्धता दोहोर्‍याउनुपर्ने सर्तको बदलामा अमेरिका र उसका सहयोगीहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब डलरको विशाल आर्थिक योजना ल्याउने प्रस्ताव गरिएको छ।

यसै गरी, इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएका प्रतिबन्धहरू फुकुवा गरिने र रोक्का (फ्रिज) गरिएको इरानी सम्पत्तिको आधा हिस्सा तत्काल फुकुवा गरिने मस्यौदामा उल्लेख छ। इरानी सञ्चार माध्यमहरूका अनुसार तेल प्रतिबन्ध निलम्बन र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा नहटाउँदासम्म अन्तिम वार्ता भने सुरु हुने छैन। यसै साताको आगामी शुक्रबार स्विट्जरल्याण्डमा यो ऐतिहासिक शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर हुने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा