काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७९ वर्ष पूरा भएको अवसरमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। ७९ वर्षको यस लामो यात्रामा दुई देशबीचको सम्बन्ध जनस्तरको प्रगाढ सम्बन्ध, साझा अवसर र अर्थपूर्ण सहकार्यमा आधारित रहेको छ।
अन्तर्राष्ट्रिय मित्रता दिवसका अवसरमा अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालसँगको साझेदारीलाई आगामी दिनमा अझ गहिरो बनाउने प्रतिबद्धता जनाएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना, सांस्कृतिक सम्पदाको संरक्षण, आधुनिक प्रविधि, स्वास्थ्य, कृत्रिम बौद्धिकता (एआई) र पर्यटनजस्ता उदीयमान क्षेत्रमा भएको अमेरिकी लगानीले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दूतावासले उल्लेख गरेको छ।
दीर्घकालीन रूपमा अघि बढाइएको यस नेपाल–अमेरिका साझेदारीले पूर्वाधार विकास, आर्थिक वृद्धि तथा अन्य विविध क्षेत्रमा महत्त्वपूर्ण सकारात्मक परिणाम ल्याउने विश्वास लिइएको छ। आगामी दिनमा पनि दुवै देश र जनताको हितलाई ध्यानमा राख्दै आपसी सहयोग तथा सहकार्यलाई थप परिष्कृत र फराकिलो बनाउँदै लगिनेछ।




