काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामाथि अमेरिकाको अधिकार रहेको अभिव्यक्ति दिएपछि अन्तरिक्षमा स्वामित्व र सार्वभौमिकताको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बहस पुनः चुलिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा अमेरिकी झन्डासहित चन्द्रमाको तस्बिर सेयर गर्दै ‘चन्द्रमा हाम्रो हो’ (The Moon is Ours) भनी दाबी गरेपछि यो विषय चर्चामा आएको हो।
यद्यपि, अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशले चन्द्रमा वा अन्य खगोलीय पिण्डमाथि आफ्नो राष्ट्रिय अधिकार वा सार्वभौमिकता दाबी गर्न पाउँदैन। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९६७ मा जारी भएको ‘बाह्य अन्तरिक्ष सन्धि’ (Outer Space Treaty) को अनुच्छेद २ ले चन्द्रमा तथा अन्य खगोलीय पिण्डलाई कुनै पनि मुलुकले कब्जा, प्रयोग वा अन्य कुनै पनि माध्यमबाट आफ्नो राष्ट्रिय क्षेत्र घोषणा गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ। अमेरिका र भारतसहित विश्वका ११४ भन्दा बढी राष्ट्र पक्षधर रहेको यस सन्धिले बाह्य अन्तरिक्षलाई सम्पूर्ण मानवजातिको साझा क्षेत्रका रूपमा परिभाषित गरेको छ।
सन्धिअनुसार कुनै पनि देशले चन्द्रमामा वैज्ञानिक अनुसन्धान गर्न, यान पठाउन तथा आफ्ना उपकरण सञ्चालन गर्न पाउने भए तापनि त्यसका आधारमा अवतरण गरिएको भूभागमाथि स्वामित्व स्थापित हुन सक्दैन। त्यसैगरी, पछिल्ला दशकहरूमा विभिन्न निजी कम्पनीहरूले चन्द्रमाको जमिन बिक्री गरेको भन्दै प्रमाणपत्र वितरण गर्ने गरे तापनि त्यसलाई अन्तर्राष्ट्रिय कानुनले कुनै मान्यता वा सम्पत्ति अधिकार प्रदान गर्दैन। विज्ञहरूका अनुसार ट्रम्पको अभिव्यक्तिलाई राजनीतिक र रणनीतिक दाउपेचका रूपमा हेरिए पनि कानुनी हिसाबले चन्द्रमामाथि कसैको एकलौटी स्वामित्व सम्भव छैन।




