ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी: विश्व बहुध्रुवीयतातर्फ गइरहेको छ, शीतयुद्धको मानसिकता त्यागौँ

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले वर्तमान अन्तर्राष्ट्रिय परिवेशमा विश्व बहुध्रुवीयतातर्फ तीव्र गतिमा अघि बढिरहेको बताउँदै ब्रिक्सलाई विश्व शान्ति, स्थिरता र न्यायको अग्रगामी शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले विश्वभर शताब्दीमै नदेखिएका ऐतिहासिक परिवर्तनहरू भइरहेको र ‘ग्लोबल साउथ’ (विकासशील राष्ट्रहरू) को शक्ति निरन्तर सुदृढ बन्दै गएको धारणा राख्नुभयो।

सम्बोधनका क्रममा राष्ट्रपति सीले शीतयुद्धकालीन मानसिकता, गुटगत द्वन्द्व, एकपक्षीय दादागिरी तथा अन्य राष्ट्रहरूको सार्वभौमसत्ता र आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपको कडा विरोध गर्नुभयो। संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरूको प्रभावकारी पालना हुन नसक्दा विश्व व्यवस्था तरल र जटिल बनेको उल्लेख गर्दै उहाँले पश्चिम एसियामा जारी युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। नागरिकको रक्षा र क्षेत्रीय स्थायित्वका लागि पश्चिम एसियामा तत्काल युद्धविराम हुनुपर्नेमा उहाँले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो।

यसैबिच, राष्ट्रपति सीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा प्रतिनिधित्व गरिएको नवप्रवर्तन र वैज्ञानिक–प्राविधिक क्रान्तिमा ब्रिक्स राष्ट्रहरूले अग्रसरता लिनुपर्ने प्रस्ताव गर्नुभयो। एआई प्रविधिको विकासलाई निष्पक्ष र समावेशी बनाउन चीनले विश्व एआई सहयोग संगठन सुरु गरेको स्मरण गराउँदै उहाँले आपसी समझदारी, संस्कृतिहरूको सहअस्तित्व र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन आह्वान गर्नुभयो। आगामी वर्ष चीनले ब्रिक्सको अध्यक्षता ग्रहण गर्ने तालिका रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा