कैलाली क्षेत्र नम्बर ५ बाट प्रेमबहादुर आलेकाे उम्मेदवारी दर्ता

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए ।

उहाँले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमन्त्री आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेको समयमा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको स्मरण गराउँदै, मन्त्री पदबाट हटेपछि उक्त बजेट अन्यत्र रकमान्तर गरिँदा विमानस्थलको काम अघि बढ्न नसकेको बताए।

“म मन्त्री हुँदा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याएको थिएँ, तर पछि त्यो बजेट अन्यत्रै लगियो । त्यसका कारण काम रोकियो,” उनले भने, “अब म निर्वाचित भएपछि उक्त विमानस्थलको काम पूर्ण गराउने प्रतिबद्धता गर्दछु ।”

यसैगरी उहाँले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि आफ्नो अर्को महत्वपूर्ण एजेन्डा रहेको उल्लेख गरे । साथै खटिया, विपीनगर, दिपायल, बझाङ हुँदै उरै–ताक्लाकोटसम्मको सडक सञ्जाल निर्माण तथा सुधार कार्यलाई समेत प्राथमिकतामा राखेर सम्पन्न गराउने लक्ष्य लिएको जानकारी दिए ।

आफ्नो राजनीतिक अनुभवबारे बोल्दै पूर्वमन्त्री आलेले विगतमा डोटी जिल्लाबाट तीन पटक निर्वाचित भएर मन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गराए ।

“मैले डोटीमा रहँदा थुप्रै विकासका काम अघि बढाएको छु । अहिले पार्टीको निर्णयअनुसार म कैलालीबाट निर्वाचनमा सहभागी हुँदैछु,” उनले भने, “कैलाली मात्र होइन, समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि म इमानदारीपूर्वक खटिने छु ।”

उम्मेदवार आलेले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का मतदाताले आफूलाई अत्यधिक मत दिएर विजयी गराउने विश्वास व्यक्त गरे । स्थानीय जनताको समर्थन, विकासप्रतिको प्रतिबद्धता र विगतको अनुभवले आफूलाई सफल बनाउने उनको भनाइ थियो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी दर्ता गरेका आलेले चुनावी अभियानका क्रममा जनताको घरदैलोमा पुगेर आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्ने बताउँदै, विकास, सुशासन र समृद्ध सुदूरपश्चिम आफ्नो मुख्य लक्ष्य हुने दोहोर्‍याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा