काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट हुने निर्यातमा उल्लेख्य सुधार देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म नेपालको निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालले ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको थियो।
निर्यातसँगै आयातको आयतनमा पनि वृद्धि भएको छ। ६ महिनाको अवधिमा वस्तु आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा निकै ठुलो हुँदा व्यापार घाटा अझै चुनौतीपूर्ण देखिएको छ। आधा वर्षको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापारको आकार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब ४ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो व्यापार ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको थियो।
तथ्यांकअनुसार नेपालको कुल व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यातको हिस्सा १३.१४ प्रतिशत रहेको छ। गत वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशत मात्र रहेकोमा यस वर्ष केही सुधार देखिएको छ।





