काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो ५४औँ राष्ट्रिय दिवस (इद अल इतिहाद) को सुखद अवसरमा २६७ जना नेपाली कैदीहरूलाई आममाफी दिने घोषणा गरेको छ।
युएई सरकारको यो उदार निर्णयप्रति नेपाल सरकारले आफ्नो तर्फबाट उच्च प्रशंसा र कृतज्ञता प्रकट गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, यो आममाफी अबु धाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशन बमोजिम युएई सरकारलाई पटक-पटक गरेको अनुरोधको परिणाम स्वरूप प्राप्त भएको हो। नेपालले युएईको यो मानवीय निर्णयलाई दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र प्रगाढ कुटनीतिक सम्बन्धको उत्कृष्ट नमुनाका रूपमा लिएको छ।
आममाफी पाएका ती नेपाली नागरिकहरूको हकमा अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्धहरू नभएको खण्डमा उनीहरू स्वदेश फर्कन पाउनेछन्। युएईको प्रचलित कानुन बमोजिम आवश्यक कानुनी प्रक्रियाहरू पूरा भएपछि उनीहरूलाई नेपाल पठाउने बाटो खुल्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारले यसअघि पनि विभिन्न समयमा विदेशमा रहेका आफ्ना नागरिकहरूको कानुनी प्रतिरक्षा र रिहाइका लागि कुटनीतिक पहल गर्दै आएको थियो, जसको निरन्तरता स्वरूप यो ठूलो संख्यामा नेपालीहरूले आममाफी पाएका हुन्।




