काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका अत्यन्तै संवेदनशील र निर्णायक हुने बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा प्रहरीको कार्यकुशलता महत्त्वपूर्ण रहने उल्लेख गरिन्।
समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिँदै कुनै पनि नागरिक घाइते हुन नहुनेतर्फ प्रहरीलाई सचेत गराइन्। उनले आसन्न निर्वाचनलाई नेपाली लोकतान्त्रिक यात्राको एक ऐतिहासिक कोशेढुंगाका रूपमा व्याख्या गर्दै यसलाई सुरक्षित र मर्यादित बनाउनु राज्यको प्रमुख दायित्व भएको तथ्य स्मरण गराइन्।
प्रधानमन्त्री कार्कीले नेपाली लोकतन्त्रका लागि यो निर्वाचन एउटा उदाहरणीय मानक बन्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। आफ्नो कर्तव्य पालनाका सिलसिलामा प्रहरीले गर्ने सबै व्यावसायिक क्रियाकलापको जिम्मा राज्यले लिनेछ, त्यसैले ढुक्क भएर काम गर्नुहोस्।’
यसका साथै प्रधानमन्त्री कार्कीले प्रहरी कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दबाब, प्रभाव वा पूर्वाग्रहबाट मुक्त रहेर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएकी छन्। उनले प्रहरी संगठनको साख जोगाउन र नागरिकको विश्वास जित्न सधैँ व्यावसायिक धर्म र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिन्।





