काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि देशभर नेपाली सेनासहितका चारवटै सुरक्षा निकाय परिचालित भएका छन्। सरकारले स्वीकृत गरेको ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुरूप आज (बुधबार) देखि सुरक्षा निकायहरूलाई चुनावी कमान्डमा खटाइएको हो। निर्वाचन आउन ठ्याक्कै एक महिना बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त बनाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा मैदानमा उत्रिएका हुन्।
यसपटकको सुरक्षा योजनामा ‘थ्रि-लेयर’ (तीन तह) को सुरक्षा घेरा तयार पारिएको छ। मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र भर्खरै भर्ना गरिएका १ लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ खटिनेछन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्नेछ। सबैभन्दा बाहिरी र रणनीतिक घेरामा नेपाली सेना रहनेछ। सेनाले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै मतपत्र छपाइ, ढुवानी, र मतगणनास्थलको सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ११ गते नै सेना परिचालनको स्वीकृति प्रदान गरिसक्नुभएको थियो।
सुरक्षा निकायले देशभरका १० हजार ९६७ मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ। जसमध्ये ३ हजार ६ सय ८० स्थललाई ‘अतिसंवेदनशील’ मानिएको छ। निर्वाचनमा कुल ८० हजार सैनिक, ७७ हजार नेपाल प्रहरी र करिब ५० हजार सशस्त्र प्रहरी परिचालन हुनेछन्। १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने यस निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन र १० मिनेटभित्रै घटनास्थलमा पुग्ने गरी ‘क्विक रेस्पोन्स’ टोलीहरू समेत तैनाथ गरिएको सुरक्षा निकायले जनाएको छ।





