काठमाडाैं । अस्ट्रेलियामा भएको कार दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । अस्ट्रेलियाको पर्थ सहरकाे रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति अनियन्त्रित कार घरभित्रै छिरेर दुर्घटना भएपछि नेपालबाट पारिवारिक भ्रमणमा गएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो ।
उक्त कार सिधै सयनकक्ष (बेडरुम) मा पुगेर ठक्कर दिँदा त्यहाँ सुतिरहेकी विष्णुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिको उक्त कार मुख्य सडकबाट अनियन्त्रित भई घरको बार भत्काउँदै गुरुङ परिवार सुतेको कोठासम्म पुगेको थियो। आपतकालीन उद्धार टोलीले प्रयास गरे तापनि उनलाई बचाउन सम्भव भएन। केही महिनाअघि मात्र नेपालबाट आफ्नी छोरी र ज्वाइँलाई भेट्न अस्ट्रेलिया आएकी गुरुङको यसरी असामयिक निधन भएको हाे।
घटनालगत्तै प्रहरीले ३६ वर्षीय चालकलाई पक्राउ गरेको छ। उनीमाथि हत्या र सम्पत्ति क्षतिको गम्भीर अभियोग लगाइएको छ भने स्थानीय अदालतले उनलाई धरौटीमा रिहा गर्न समेत अस्वीकार गरेको छ।





