काठमाडौँ । काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको यात्रुवाहक बस रामेछापमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। रामेछापको मन्थली नगरपालिका-६ स्थित त्रिवेणी घाटमा प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो।
सशस्त्र प्रहरी (एपीएफ) का अनुसार मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन्। दिउँसो करिब पौने ११ बजेतिर बस सडकबाट झन्डै २० मिटर तल नदीमा खसेको थियो। बस नदीमा डुबेको अवस्थामा रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।
सशस्त्र प्रहरीले हालसम्म ५ जना घाइतेको जीवितै उद्धार गरिएको जनाएको छ। यद्यपि, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार १० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल पठाइसकिएको छ। बसमा कति यात्रु सवार थिए भन्ने अझै यकिन भइसकेको छैन।
घटनास्थलमा अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) गुल्म रामेछाप र विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी र उद्धार कार्य जारी राखेको छ।





