काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौं नै फर्किएको छ। सोमबार राति ९:४५ बजे ८० जना यात्रु लिएर उडेको उक्त जहाज धनगढीको आकाशमा पुगे पनि अवतरण गर्न नसकेपछि काठमाडौं फर्कनु परेको हो।
धनगढी विमानस्थलमा अवतरणका लागि चालक दलले पटक-पटक प्रयास गरेका थिए। तर, मौसम वा प्राविधिक लगायतका कारणले अवतरण सम्भव नभएपछि जहाज राति १२:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। मध्यरातमा जहाज काठमाडौं फर्किएपछि गन्तव्यमा जान नपाएका यात्रुहरूले विमानस्थलमा केहीबेर आक्रोश र असन्तुष्टि व्यक्त गरेका थिए।
एयरलाइन्सका कर्मचारी सागर पौडेलका अनुसार अलपत्र परेका यात्रुमध्ये जान चाहनेहरूलाई आज मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने तयारी गरिएको छ। त्यस्तै, यात्रा रद्द गर्न चाहने यात्रुहरूको हकमा नियमानुसार टिकटको पैसा फिर्ता गरिने कम्पनीले जनाएको छ।





