काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा बादल लागेको छ भने लुम्बिनी र कर्णालीका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रही तराईका क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीसहित ५ प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत चट्याङसहित पानी पर्ने अनुमान छ।
पहाडी क्षेत्रमा वर्षाले शीतल गराउने सङ्केत गरे पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा भने आज अत्यधिक गर्मी अर्थात् ‘तातो दिन’ (लू) हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। आज राति भने कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहे पनि तराईको मौसम मुख्यतया सफा रहनेछ।




