वासिङ्टन डीसी ।अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी आयात कर सम्बन्धी नीतिलाई गैरकानूनी ठहर गर्दै खारेज गरिदिएको छ। अदालतको यो फैसलालगत्तै क्रुद्ध बनेका ट्रम्पले जवाफी कदम स्वरूप पुनः १० प्रतिशत नयाँ भन्सार कर लगाउने घोषणा गरेका छन्।
अदालतको फैसला र ट्रम्पको आक्रोश
सर्वोच्च अदालतका न्यायाधीशहरूले गत वर्ष ह्वाइट हाउसले घोषणा गरेका अधिकांश विश्वव्यापी भन्सार करहरूलाई कानुन विपरीत ठहर गरेका हुन्। अदालतको यस आदेशलाई राष्ट्रपति ट्रम्पले ‘भयानक’ भन्दै कडा टिप्पणी गरेका छन्। उनले आफ्नो व्यापार नीति अस्वीकार गर्ने न्यायाधीशहरूलाई ‘मूर्ख’ को संज्ञा समेत दिएका छन्।
विगतको विवाद र नयाँ अन्योल
गत वर्ष ट्रम्प प्रशासनले मेक्सिको, क्यानडा र चीन लगायतका देशहरूबाट आयात हुने सामानमा कर बढाएपछि विश्वव्यापी रूपमा यसको तीव्र विरोध भएको थियो। अदालतले ती पुराना करहरू खारेज गरे पनि ट्रम्पले तत्कालै १० प्रतिशतको नयाँ कर अघि सारेपछि विश्व व्यापारमा पुनः अनिश्चितता र अन्योल थपिएको छ।





